अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्रका बिधालयहरु पनि खुल्न थालेका छन् । कोरोना कहरले गर्दा ८ महिनादेखी बन्द अबस्थामा रहेको बिधालयहरु अहिले खुल्न थालेका हुन् ।
बिधालय खोल्नका लागि नगरपालिकाले आवश्यक मापदण्डहरु पनि तयार पारेको छ । सोही मापदण्ड अनुसार बिधालयमा पठनपाठन सुरु गरिएको ज्ञान ज्योती मा.विका प्रिन्सिपल जगबिर थापाले बताए । उनले अहिले अबस्थामा पहिलेको भन्दा कार्य तालिकालाई परिर्वतन गरिएको बताए ।
गोदावरी नगरपालिका नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सुचना जारी गर्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनुसार विद्यालय खोल्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । नगरपालिकाले जारी गरेको सुचना अनुसार संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलव्ध भौतिक पुर्वाधार व्यवस्थापन गरी विद्यालयहरु खोल्नुपर्ने जनाएको छ । विद्यालय सञ्चालन गर्दा शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुले अनिवार्य मास्क लगाउनुपर्ने छ ।
भौतिक दुरी मिलाई बस्ने, खाजा व्यवस्थापन गर्ने लगायतका बिषय अभिभावक संग सकहकार्य गर्नुपर्ने छ । नगरपालिकाले विद्यालयलाहरुलाई सबै कक्षा र विद्यार्थीलाई एकै समय कक्षा संचालन गर्ने, अलग–अलग (सिफ्ट) मा अलग अलग कक्षा वा तह संचालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा संचालनको अवधि घण्टी छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिलो वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिलो (जोखिम र सहजता हेरी) कक्षा सुरु गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा संचालन हुने गरी पालैपालो कक्षा संचालन गर्ने लगायतका विकल्प दिएको छ ।
यस्तै गरी कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा संचालन हुने गरी पालैपालो कक्षा संचालन गर्ने र हप्तामा केही दिन, दिनमा केही घण्टा संचालन गर्ने भनि विकल्पहरु राखिएको छ । लामो समयपछि बिधालय खुलेपछि बिधार्थीहरु उत्साहित भएका छन् ।
अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयमा कक्षा १० मा अध्यनरत आकाक्षा पाण्डेले बिधालयमा आएर पढ्न पाउदाँ सपना जस्तै लागिरहेको बताइन् ।
उनले लामो समय घरमा बस्दा दिक्क भैसकेको बेला ढिलै भएपनि बिधालयमा गएर कक्षाकोठमा बसेर पढ्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले कोरोनावाट बच्नका लागि घर देखि बिधालय सम्म सम्पूर्ण सुरक्षा अपनाइरहेको बताइन् ।