काठमाण्डौ - नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिलाई आगामी आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र बाँडिसक्ने योजना बायोमेट्रिकसहितको वैयक्तिक विवरण संकलन लक्ष्यअनुसार नभएपछि प्रभावित हुने भएको छ ।
नागरिकता लिएका सबै नेपालीको बायोमेट्रिकसहितको विवरण संकलन ०७८ असारभित्र र परिचयपत्र ०७९ असारभित्र वितरण गर्ने योजना तय गरिएको थियो तर चालु आर्थिक वर्षका ४ महिनाको विवरण संकलन नै निराशाजनक छ । लक्ष्यअनुसार २० देखि २५ लाख नागरिकको बायोमेट्रिकसहितको विवरण संकलन हुनुपर्नेमा साउन, भदौ, असोज र कात्तिकमा करिब ७ लाखको मात्रै सकिएको छ ।
विभागले गत असोज मसान्तदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्र विवरण संकलन सुरु गरेको हो । कोरोना जोखिम कम भएका स्थानमा यसलाई द्रुत गतिमा अघि बढाउने र सम्भव भए जिल्ला प्रशासन, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर सबै वडामा फाराम भर्ने विभागको तयारी छ ।
नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि र राहदानी लिन आउनेलाई भने परिचयपत्रको विवरण भर्न अनिवार्य गरिएको छ । पहिलो चरणमा पाँचथर र सिंहदरबारमा कार्यरत कर्मचारीलाई परिचयपत्र वितरण गरिए पनि अन्य जिल्लामा अघि बढेको छैन । पहिलो चरणमा विभागले १ लाख १७ हजारलाई परिचयपत्र दिएको थियो ।
पछिल्लोपटक असोज मसान्तबाट झापा, संखुवासभा, चितवन, ललितपुर र कञ्चनपुरका वडा तहबाटै विवरण संकलन थालिएको छ । विभागका अनुसार ओखलढुंगा, सिन्धुली, कैलाली र डडेल्धुराका स्थानीय वडा तथा टोलटोलमार्फत बायोमेट्रिक विवरण संकलनको तयारी छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्ला र प्रदेश २ का सर्लाही र सप्तरीबाट पनि विवरण संकलनको तयारी भइरहको महानिर्देशक बस्नेतले जानकारी दिए ।
यसकै लागि आवश्यक परेका स्थानमा खटाउने गरी १ सय जना ‘बायोमेट्रिक विवरण दर्ता अपरेटर’ करारमा नियुक्ति गर्न लागिएको छ । काम लगाएको दिनको १ हजार २ सय रुपैयाँ पारिश्रमिक दिने गरी ३ वर्षका लागि आवेदन मागिएको छ तर कोरोना महामारीको असरले काम नियमित हुनेमा शंका छ ।