धनगढी - सुदूरपश्चिम प्रदेशमा कार्यरत प्रहरी उपरीक्षक सहितका ४ सय बढी प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार ९ वटै जिल्लामा कार्यरत ४ सय ८ जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।
प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हालसम्म संक्रमण पुष्टि भएका मध्ये ३ सय २ जनाले कोरोना जितिसकेको जानकारी दिए ।सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८५ जना, जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत ८४ जना, सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत ३२ जना संक्रमणमुक्त भएको प्रहरी वरिष्ठ उपरीक्षक सिहले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका २१ जना, डोटीका ११ जना, बझाङका १० जना, अछामका ९ जना, बैतडीका ८ जना, दार्चुलाका ७ जना, बाजुराका ६ जना र डडेल्धुराका ५ जना प्रहरीले कोरोना जितेका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी सम्पर्क कार्यालयका ६ जना, दंगा नियन्त्रण गणका ६ जना, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका ५ जना प्रदेश प्रहरी कार्यालयका १ जना र संघीय प्रहरी इकाइका १ जना पनि कोरोना मुक्त भएको सिहले जानकारी दिए ।
हालसम्म संक्रमण पुस्टि भएका १ सय २ जना संक्रिय संक्रमित रहेका छन् ।प्रदेश प्रहरी कार्यालयका अनुसार ७३ जना प्रशिक्षार्थी प्रहरी जवान सहितका १ सय २ जना संक्रमित छन् । तर उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।