अत्तरिया - सुदूरपश्चिममा गम्भीर प्रकृतिका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भेन्टिलेटर र आइसियू अभाव हुन थालेको छ । तर, प्रदेश सरकारले खरिद गरेका भेन्टिलेटर भने जनशक्ति अभावमा प्रयोगमा आउन सकेका छैनन् । कैलालीको टीकापुर अस्पताल, जिल्ला अस्पताल बझाङ र डोटीमा हालै जडान गरिएका दुई–दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।
प्राविधिक जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालन गर्न नसकिएको सम्बन्धित अस्पतालहरूले जनाएका छन् । कोरोना संक्रमितको उपचारमा सहज होस् भनेर प्रदेश सरकारले प्रदेशका १० वटा अस्पतालमा दुई–दुईवटा राख्ने गरी गत असोजमा २० वटा भेन्टिलेटर खरिद गरेको थियो ।
टीकापुर, बझाङ, डोटी, महाकाली र सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर जडान गरिसकिएको छ भने जिल्ला अस्पताल बाजुरा, अछाम, बैतडी, दार्चुला र डडेल्धुरा अस्पतालमा जडानको क्रममा छ । यीमध्ये डडेल्धुराबाहेक बाँकी अस्पतालमा पनि जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोग गर्न सकिने अवस्था छैन ।
जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेपछि कैलालीको टीकापुर अस्पतालले भेन्टिलेटर आवश्यक पर्ने बिरामीलाई नेपालगन्ज मेडिकल कलेज वा धनगढी रेफर गर्ने गरेको छ ।
यो अस्पतालमा प्रदेश सरकारले दुईवटा र युएनडीको सहयोगमा एउटा भेन्टिलेटर जडान गरिएको छ । तीनवटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईले बताए । उपकरण भए पनि जनशक्ति नहुँदा सेवा दिन नसकिएपछि अस्पतालले जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहलाई गुहार गरेको छ ।
‘टीकापुर नगरपालिका र आसपासका स्थानीय तहसँग सामूहिक छलफल गरेर जनशक्तिको व्यवस्थापन गर्न आग्रह गरेका छौँ,’ मेसु राईले भने, ‘भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई अन्यत्र पठाउनुपरेको छ । उपकरण भएर पनि सेवा दिन सकिएको छैन ।’
जिल्ला अस्पताल बझाङमा पनि प्रदेश सरकारले दुईवटा भेन्टिलेटर जडान गरेको छ, जुन प्रयोगमा आउन सकेका छैनन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दीप ओखेडाले सामान्य जनशक्तिले भेन्टिलेटर सञ्चालन गर्न नसक्ने भएकाले प्रयोगमा ल्याउन नसकेको बताए । भेन्टिलेटर चलाउन क्रिटिकल केयर फिजिसियन वा एनेस्थेसियोलोजिस्ट आवश्यक पर्छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा मात्रै क्रिटिकल केयर फिजिसियन छन् । महाकाली र डडेल्धुरा अस्पतालमा तालिमप्राप्त जनशक्तिले भेन्टिलेटर चलाइरहेका छन् । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले अस्पतालहरूमा कार्यरत चिकित्कलाई छोटो अवधिको तालिम दिएर भेन्टिलेटर सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताए ।
क्रिटिकल केयर फिजिसियन र एनेस्थेसियोलोजिस्टको देशभर नै अभाव रहेको र सुदूरपश्चिममा बढी अभाव रहेको बताए । तालिमप्राप्त जनशक्तिले इमर्जेन्सी अवस्थामा भेन्टिलेटर चलाउन नसक्ने उनले बताए । ‘क्रिटिकल अवस्थामा भेन्टिलेटर चलाउन विशेषज्ञ नै चाहिन्छ, तर सुदूरपश्चिममा सेतीबाहेक अन्यत्र यो जनशक्ति छैन,’ प्रदेश स्वास्थ्य निर्देशक अवस्थीले भने, ‘महाकाली र डडेल्धुरा अस्पतालमा भेन्टिलेटर सेवा छ, तर त्यहाँ तालिम लिएकाहरूले चलाइरहेका छन् ।’
भेन्टिलेटर चलाउन आधारभूत तालिम लिन पनि काठमाडौं पठाउनुपर्ने र तालिम दिन सक्ने वीरलगायत अस्पतालमा पनि कोरोनाका कारण तालिम लिन पनि समस्या रहेको उनले बताए । संघीय सरकारले पनि सुदूरपश्चिममा थप सातवटा भेन्टिलेटर पठाउने जानकारी आएको निर्देशनालयले जनाएको छ । जनशक्ति नहुने हो भने उपकरण आएर मात्रै सेवा दिन नसकिने डाक्टर अवस्थीले बताए ।
कोरोना संक्रमित गम्भीर अवस्थाका बिरामीमा श्वासप्रश्वासको समस्या हुने भएकाले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । सुदूरपश्चिमभर अहिले सेती, महाकाली र डडेल्धुरा अस्पतालमा गरी १७ वटा भेन्टिलेटर र २३ शय्याको आइसियू सुविधा सञ्चालनमा छ । अन्य अस्पतालमा पनि भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ जनशक्ति पूर्ति गर्न सकिने अवस्था नरहेकाले मेडिकल अफिसर र स्टाफ नर्सलाई आइसियू र भेन्टिलेटर चलाउने चार दिनको तालिम दिन लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।
प्रदेशभर हालसम्म १० हजार ५६७ जनामा संक्रमण देखिएकोमा आठ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । संक्रमित ३१ जनाको मृत्यु भएको छ । नयाँ पत्रिकावाट