कन्चनपुर - लोप हुने अवस्थामा पुगेको लठौवा नाच जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीका थारु युवाहरु जुटेका छन । डौना वेवरी लठौवा नाच टोली गठन गरी युवाहरु यो नाच जगेर्नामा लागेका हुन् ।
युवाहरुले नाच जोगाउनका लागि १२ जनाको टोली बनाएका छन । 'थारु समुदायको दशैँ, तिहार, माघीलगायतका चाडपर्वमा देखाइने लठौवा नाच लोप हुन थालेपछि जोगाउनका लागि अगाडि बढेका छौँ ' , डुठन डगौराले भने, बूढापाकाहरुबाट सर्दै आएको संस्कृति जोगाउनका लागि टोलीनै गठन गरेका छौँ । नाचलाई कसरी पुरानै तरिकाले देखाउन सकिन्छ र मौलिकता थप्न सकिन्छ भनेर दैनिक अभ्यासमा समेत जुटेका छौँ ।
सांस्कृतिक समारोह र अन्य कार्यक्रममा समेत युवाहरुले लठौवा नाच देखाउने गरेका छन । नाचका लागि आवश्यक पर्ने पहिरन बनाउने सीप समेत सिकेका छन । 'सामाजिक, राजनीतिक र सांस्कृतिक समारोहमा लठौवा नाचलाई देखाउँदा संस्कृति जोगाउनका लागि मद्दत पुग्छ ' , बिहारी चौधरीले भने, नाचबारे सबैले जानकारी पाउँछन । पछिल्लो पुस्ताले समेत नाच बारे जानकारी पाउने भएकाले निरन्तरता दिँदै आएका छौँ ।
नाच निकै आकर्षक र मनमोहक हुने भएकाले दर्शकले यस नाचको बढी माग गर्ने गर्दछन । हातमा लाठी लिएका युवाहरुले पिठ्युमा मयुरको प्वाँख बाँधेर आकर्षक तरिकाले परम्परागत गीत गाउँदै नाचलाई प्रस्तुत गर्दछन । थारु सामुदायकको यस सामुदायिक लोक नृत्यमा एक जना हास्यव्यङ्ग्य गर्ने व्यक्ति पनि रहने गर्दछन् । यिनलाई थारु भाषामा ‘सोङ्ग्या’ भन्ने गरिन्छ । नृत्यमण्डलीमा रहने तान्त्रिकले परम्परागत विधिद्वारा नाचको प्रारम्भ गर्ने र पूजा विधिद्वारानै समापन गर्ने गर्दछन् ।
'नाच परापूर्वकालदेखि चल्दै आएको छ ', स्थानीय चन्द्रबहादुर चौधरीले भने, नाच आयोजना गर्न निकै खर्च लाग्ने भएकाले धेरैले छाड्दै आएका थिए । हाल युवाले अन्य जिल्लाबाट यस नाचबारे सिकेर जगेर्नामा जुटेका छन् । रासस