अत्तरिया - भूस्वर्गको उपमाले परिचित सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक एबम् पर्यटकीयस्थल खप्तडमा लाग्ने गङ्गादशहरा मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष जेठ महिनामा लाग्ने गङ्गादशहरा मेला यस बर्ष पनि बुधवार भब्यताका साथ सम्पन्न भएको हो ।
उक्त मेला भर्नका लागि सुदुरपश्चिम प्रदेशको नौ वटै जिल्ला सहित देश तथा बिदेशका वृद्धवृद्धादेखि बालबालिका सम्म हजारौँ तीर्थालु एबम् पर्यटकहरु खप्तड क्षेत्रमा पुगेका थिए । यस बर्षको गङ्गादशहरा मेलामा ५ हजार भन्दा बढि तीर्थालु एबम् पर्यटकहरुले अबलोकन गरेको खप्तड राष्ट्रिय निकुञ्जका अध्यक्ष राम प्रसाद उपाध्यायले जानकारी दिए ।
उनले मेला लाग्ने दिन असिना पानी परेकाले यकिन तथ्याङ् लिन समस्या भएको बताए । ‘पानीले गर्दा केहि समस्या भयो तर पनि ५ हजार भन्दा बढिको इन्ट्री भएको छ ’उनले भने – ‘हरेक बर्ष जस्तै यस बर्ष पनि मेला हेर्न हजारौ पर्यटकहरु पुगे , मेला भब्यताका साथ सम्पन्न भयो । ’ गङ्गादशहरा मेलाको अबसरमा मङ्गलवार बेलुका देखी सुरु भएको महिला र पुरुषको छुट्छुटै देउडा खेलले रातभरि खप्तडको रौनक नै बेग्लै थियो ।
मेलाकै अवसर पारी डोटी उद्योग वाणिज्य सङ्घले खुला भलिबल प्रतियोगिता , घोडा दौड र देउडा प्रतियोगिता पनि आयोजना गरेको थियो । मङ्गलवार राति देउडामा रमाएका तीर्थालु एबम् पर्यटकहरुले बुधबार बिहान त्रिवेणी धाममा नुहाएर पूजाआजा गरे । गङ्गादशहरा मेलाका दिन त्रिवेणी धाममा नुहाउँदा पाप नाश हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने जनविश्वास रहेको जानकारहरु बताउदछन् । मेलाको समयमा नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि बसेनी आफ्नै खर्चमा पूजा गर्ने गर्दछ ।
सुदूरपश्चिमका चार पहाडी जिल्ला बझाङ्ग, डोटी , बाजुरा र अछामको बिच केन्द्र विन्दुमा पर्ने खप्तड साच्चै प्रकृतिक सौर्ययताले भरिपुर्ण भएपनि राज्यको लगानी शुन्य रहेको त्याहा पुगेका तीर्थालुहरुले बताए । सरकारले थोरै भएपनि लगानी गरेमा मेलाको बेला मात्रै नभएर मासिक रुपमा हजारौ पर्यटकहरु खप्तडको अबलोकनका लागि पुग्ने मेला भर्न खप्तडमा पुगेका बझाङ्का गणेश ओली भनाई थियो । उनले खप्तडको विकासका लागि सबैभन्दा पहिले छोटो दुरीको बाटो बन्न जरुरी रहेको बताए ।
‘अहिले थुप्रै बाटाहरु छन् र ति पुराना घुमाउरा बाटाहुदा याहा सम्म पुग्ने पर्यटकहरुले धेरै समस्या खेप्नुपर्छ ’ उनले भने – ‘अब यि सबै बाटाहरु मध्ये एउटा ब्यबस्थित र छोटो दुरीको बाटोलाई खप्तड पुग्ने बाटो बनाउन स्थानिय , प्रदेश र संघ सरकारले ध्यान दिनुपर्छ ।’ मेलाको अबसरमा खप्तड क्षेत्रमा मदिराजन्य बस्तुहरुको बिक्रि बितरण तथा सेवनमा रोक लगाएको थियो । मेला संगै अन्य समयमा पनि छिटफुट रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरु खप्तडमा पुग्ने गरेपनि त्याहा बस्न र खानाका लागि ब्यबस्थित होटलहरु नहुदा पनि निराश हुने गरेका छन् । जाने बुझेकाले आफ्नो पुर्व तयारी गरेर जाने भए पनि टाढावाट जाने पर्यटकहरुले भने खाजे जस्तो बस्ने खाने ठाउ नपाउदा दोसा्रे पटक ति पर्यटकहरु फर्किएर नआउने त्याहिका स्थानिय कमल बिष्टले बताए ।
खप्तड क्षेत्रमा आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छपक्कै छोपेका मैदानहरु रहेका छन् । २२ पाटन र ५२ झोती भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिङ्ग, गणेशस्थान, नागढुङ्गा, माइका थान, छिन्तेढुङ्गा, केदारढुङ्गा, डाँफेकोट, सीतापाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुङ्गा, भलाउने पाटनजस्ता धार्मिक स्थलहरु रहेका छन् ।
निकुञ्जको संरक्षणका लागि चार वटा ठाउँमा इलाका कार्यालय रहेको छ । खप्तड क्षेत्रमा जेठ महीनामा गङ्गादशहरा मेला तथा भदौ महीनामा जनैपूर्णिमाका दिन पनि भव्य जात्रा लाग्ने गरेको त्रिवेणी धामका पुजारीले बताए । खप्तड क्षेत्र खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएको विभिन्न धार्मिक ग्रन्थ र पुस्तकहरुमा लेखिएको छ । खप्तड बाबाको आगमनपछि स्थानीयवासीले तत्कालीन राजा वीरेन्द्र शाहलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएको थियो ।
समुद्र सतहबाट तीन हजार ५०० मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी चराचुरुङ्गीहरु पाइने गरेको खप्तड राष्ट्रिय निकुञ्जका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । सो क्षेत्रभित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुङ्गा, खापर दह, सहस्रलिङ्ग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतिहरु र चराचुरुङ्गीहरु रहेका छन् ।
प्रकृतिले नै रमाइलो बनाएको यस ठाउँमा ठूल्ठूला घाँसेमैदान, ससाना ढिस्का र रमाइलो जङ्गल रहेको छ । त्यहाँ रहेका घाँसेमैदानमा गाई, गोरु, घोडा बर्सेनी चर्न आउने र रमाउने गर्छन् । खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँटहरु रहेका छन् ।