अत्तरिया - कैलालीको अत्तरिया क्षेत्रका केही विद्यालयहरुले कक्षा ११ को बार्षिक परीक्षा सुरु गरेका छन् । गएको जेठ महिनामा संचालन हुने भनिएको परिक्षा यस बर्ष विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण बिधालयहरुले ढिलो गरि परीक्षा सुरु गरेका हुन् ।
गोदावरी नगरपालिका अन्तरगतका एक सरकारी र ५ वटा निजि गरि आजवाट ६ वटा विद्यालयहरुले कक्षा ११ को बार्षिक परीक्षा सुरु गरेको गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीले जानकारी दिए ।
उनका अनुसार गोदावरी २ मा रहेको दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयले साईन्स तर्फको परिक्षा सुरु गरेको छ भने सैनिक आवासिय महाबिधालय तेघरी , एभरेष्ट एकेडेमी , होलिल्याण्ड माध्यामि विधालय , लोटस आई स्कुल र जेके माध्यामिक बिधालयले आजवाट परीक्षा सुरु गरेका हुन् । परीक्षा संचालन गर्नुपूर्व बिधालयहरुलाई कोरोनावाट बच्न सम्पूर्ण सुरक्षाका मापदण्डहरु पुरा गर्न भने अनुसार नै परीक्षा संचालन भैरहेको शिक्षा शाखा प्रमुख खत्रीले बताए ।
उनले आज पहिलो दिन आफूले तिनवटा बिधालयमा गई स्थलगत अनुगम गरेको समेत बताए । परीक्षा दिन पुगेका विद्यार्थीहरुलाई हल भित्र प्रवेश गर्नुपूर्व तापक्रम मापन गर्ने देखी हात धुने र स्यानिटाइजिङ गर्ने गरि हेल्थ डेस्कको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार बाकिँ बिधालयहरुले पनि परीक्षा संचालनका लागि तयारी गरिरहेका छन् ।
जसमा केही बिधालयहरुले तिहार पछि अर्थात मंसिर ३ गतेवाट परीक्षा संचालन गर्ने तयारी गरिरहेको उनले बताए । दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयका प्रध्यानाध्यापक शिवराज जोशीले आजदेखी साईन्स तर्फको परीक्षा सुचारु गरिएको र बाकिँ बिषयका परीक्षाहरु मंसिर ३ गतेवाट संचालन गरिने जानकारी दिए ।
उनले परीक्षा दिए आउने बिधार्थीहरुमा कोरोनाको जोखिम नहोस भन्नका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको बताएका छन् ।