अत्तरिया - स्थानिय तहमा जनप्रतिनिधि आएको ३ बर्ष पुग्दा पनि कैलालीका स्थानिय तहहरुले अहिले सम्म फोहोरमैला व्यवस्थापनको केन्द्र डम्पिङ साइड बनाउन सकेनका छैनन् । डम्पिङ साइड बनाउनुको सट्ट उल्टै स्थानीय तहहरुले नगरभित्रको फोहोरमैला उठाएर सामुदायिक बन क्षेत्रमा फाल्ने गरेका छन् ।
जिल्लामा रहेका १३ वटा स्थानीय तह मध्ये कसैले पनि नगरभित्रको फोहोरमैला ब्यबस्थापनका लागि एक निश्चित डम्पिङ साइड बनाउन नसक्दा सामुदायिक बन क्षेत्र नै डम्पिङ साइड बनेको छ ।
गोदावरी नगरपालिकाले लामो समयदेखी डम्पिङ साइड बनाउने भनेर तयारी थालेपनि अहिले सम्म किताबी काम बाहेक अरु कुनै पनि काम अगाडी बढाउन सकेको छैन् । अहिले नगरपालिकाले नगरभित्रवाट उठेको फोहोरहरु सबै गोदावरी ३ मा रहेको चौकीडाडा महिला सामुदायिक बनमा पर्ने गोदावरी नदीको छेउमा अलपत्र फाल्न गरेको छ ।
बिभिन्न सर्तहरु राखेर सामुदायिक बनले जग्गा दिने सहमति गरेको भएपनि अहिले सम्म पूर्वाधार निर्माणको कुनै पनि काम अघि बढ्न नसकेको हो । गोदावरी नगरपालिकाले डम्पिङ साइडका लागि अझै कागजी प्रकृयाहरु भैरहेको बताएको छ । नगरप्रमुख हरि सिंह साउँदले यो निकै लामो प्रकृयाको हुने हुदा पूर्वाधार निर्माणमा अझै समय लाग्ने बताए ।
गौरिगंगा नगरपालिकाले मुख्य राजमार्ग छेउमै रहेको एउटा सामुदायिक वनमा कर्कटपाताले घेरेर फोहोर फाल्ने बनाएको छ । झारपात र साना तथा ठुला रुखले भरिएको सो सामुदायिक वनमा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गरिरहेको नगर प्रमुख भीमबहादुर देउवाले बताए ।
घोडाघोडी नगरपालिकाले पनि दुई वटा सामुदायिक वनमा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ । ‘नगरपालिकाभित्रै हामीले बजारबाट संकलन भएका फोहोर एक सामुदायिक वनमा फाल्ने गरेका छौं,’ नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले भने,‘अब वडा नम्बर १० स्थित भुर्काभुर्की सामुदायिक वन र वडा नम्बर २ मा रहेको सामुदायिक वनमा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउँदै छौं ।’
उनले फोहोरमैला व्यवस्थापनका लागि बननै उपयुक्त रहेको बताए । यस्तै लम्कीचुहा नगरपालिकाले बल्चौर सामुदायिक वन क्षेत्रलाई फोहोरमैला व्यवस्थापन गर्ने स्थल ९डम्पिङ साइड० बनाएको छ । नगरपालिकाले दैनिक रुपमा लम्की बजार र वडा–वडाबाट संकलन भएका फोहोरमैला सो वनको जग्गामा व्यवस्थापन गरिरहेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले भने, ‘पर्खाल बनाएर बल्चौर सामुदायिक वनको छेउमै रहेको पुल छेउमा फोहोरमैला व्यवस्थापन गरिन्छ ।’ उनले नगरपालिकाभित्र सड्ने र नसड्ने फोहोरलाई अहिले छुटाउने काम नगरिएको बताए । टीकापुर नगरपालिकाले अहिलेसम्म फोहोरमैला व्यवस्थापनको स्थान टुङ्गो लगाउन सकेको छैन।
फोहोरमैला व्यवस्थापनको स्थान छनौट नगरे पनि नगरभित्र संकलन भएका फोहोर नगरपालिकाकै नसरी छेउमा रहेको वनभित्र व्यवस्थापन गरिदै आएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा नपाउँदा स्थानीय तहहरुले वनलाइ नै छनौट गरिरहेको विज्ञहरु बताउँछन ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने भनेर कार्यक्रम रहेपनि कोरोना र जग्गा विवादका कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताए । फोहोरमैलाका लागि एक संस्थाका संग सम्झौता भइसकेको उनले बताए ।