काठमाण्डौ - चालू शैक्षिक सत्रमा बिक्रीवितरण गर्न प्रकाशित गरिएका विद्यालयका पाठ्यपुस्तक गोदाममै थन्किएका छन् । निजी प्रकाशन गृहले निजी विद्यालयका लागि तयार गरेका ६५ प्रतिशत पुस्तक प्रकाशक तथा वितरकको गोदाममै थन्किएका छन् भने सरकारी विद्यालयका विद्यार्थीका लागि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तक पनि सरकारी विद्यालयमै थन्किएका छन् ।
कोभिड–१९ का कारण गत चैतदेखि देशभरका विद्यालय सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि तयार गरिएका पाठ्यपुस्तक प्रकाशन गृह, वितरक र खुद्रा विक्रेताको गोदाममा थन्किएका हुन् । सरकारी विद्यालयका पाठ्यपुस्तकको अवस्था पनि उस्तै छ ।
विद्यार्थी लिन नआएपछि काठमाडौं उपत्यका सरकारी विद्यालयका पाठ्यपुस्तकसमेत विद्यालयकै गोदाममा थन्किएका छन् । सरकारले आगामी वर्ष केही कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको छ । यदि नयाँ पाठ्यक्रम लागू भएमा प्रकाशन गृहहरूले ठूलो क्षति बेहोर्नुपर्ने भएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष मनहरी बस्याल निजी विद्यालयका लागि तयार गरेका पुस्तक यस वर्ष ६५ प्रतिशत बिक्री नभएको बताउँछन् । कक्षा १२ सम्मका पाठ्यपुस्तक प्रकाशन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रमा ७६ प्रकाशन गृह सूचीकृत छन् ।
प्रायः सबैका पुस्तक गोदाममै थन्किएको अध्यक्ष बस्यालले बताए । आत्मनिर्भर हुन लागेको प्रकाशन क्षेत्र कोरोनाले तहसनहस भएको प्रकाशन गृहका सञ्चालकको भनाइ छ । कोरोनाका कारण झन्डै ५० प्रतिशत विद्यार्थी विद्यालय नपुगेको र अनलाइन कक्षामा पनि नजोडिएका कारण पुस्तक बिक्री नभएको उनको भनाइ छ ।
दुई(तीनवटा बच्चा भएको परिवारमा अनलाइन पढाइका लागि स्मार्ट फोन र इन्टरनेट जोड्न कम्तीमा ५०–६० हजार खर्च हुने भएकाले पनि धेरै विद्यार्थीले कक्षा नलिएको पाइएको छ । केहीले पुरानै पुस्तक प्रयोग गरेकाले पनि नयाँ बिक्री नभएको जनाएको छ ।