धनगढी-क्षेत्रीय शहरी विकास आयोजना अन्तरका सडकहरु विस्तारका लागि धनगढीका घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने संरचनाहरु भत्काउन थालेका छन् । नगरका सडकहरु फराकिला बनाउनका लागि घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन । बुधवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले संरचना भत्काउन सुरु गरेका छन् ।
वडा नं २ मा निर्माण भैरहेको गुल्म–चर्च सडक १० मिटर फराकिलो बन्दै छ भने वडा नं ५ भएर निर्माण गरिने क्याम्पस रोड– चटकपुर सडक १६ मिटर फराकिलो बनाईदै छ । घरधनीले संरचना भत्काउदा नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, उप–महानगरका डिभिजनल ईन्जीनियर स्वयं उपस्थीत भएर सडकक्षेत्र छुट्टाउने काममा सहयोग गरेका थिए ।
घरधनीहरु आफै घन, सावल लिएर संरचना भत्काउन थालेको नगरप्रमुख नृपबहादुर वडले बताए । 'नगरवासीले सडक बिस्तारका लागि गरेको सहयोगले क्षेत्रीय शहरी विकास आयोजनाहरु समयमै सम्पन्न हुनेमा ढुक्क छौं,नगरप्रमुख वडले भने, 'स्थानीयको सहयोग बिना कुनैपनि ठाउँको विकास गर्न सकिदैन ।' उप–महानगरपालिकाले सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रुपमा सम्मान गर्ने,भत्काएको भागको नक्सापासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढीका नगरवासी विकासका लागि हातेमालो गर्छन् भन्ने सन्देश दिएको बताईन । धनगढी उप–महानगरपालिका वडा नं ५ तारानगरका गम्भीर सिंह बमले नगरको विकासमा कसैले अवरोध गर्न नहुने घर धनी बमले बताए । ‘क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दै छ, 'बमले भने, 'थोरै क्षेत्रधिकारमा मेरो संरचना पर्ने भएकाले मैले पक्की घर आफै भत्काउन सुरु गरेको छु ।'
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरि २०७७ साल असार २८ गते सम्झौता भएको उप–महानगरपालिकाका डिभिनल ईन्जीनियर डिजराज भट्टले बताए । उनका अनुसार गुल्म –चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड , ट्राफिक चौराहा देखि –कैलालीनाला ( १ हजार ३ सय ८० मिटर) , हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर) , क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी – खुटीया स्याउले रोड ( ८ सय ७० मिटर ) , मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेको छ ।