कन्चनपुर -कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ ।सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो । सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेकामा सन् २०१९ मा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१९ को अप्रिल १४ देखि २८ सम्म गणना गर्दा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको पाइएको निकुञ्जले जनाएको छ ।
सन् २०१९ मा गरिएको गणनामा बाह्रसिङ्गाका वयस्क भाले ३८३, पोथी एक हजार २०८, अर्धवयस्क भाले १३९, पोथी ३१५ र पाठापाठी २०१ गरी कूल दुई हजार २४६ बाह्रसिङ्गा निकुञ्जमा रहेको प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले बताए।“शून्य चोरी शिकारी रहे पनि बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको पाइएको छ”, उनले भने , “बाह्रसिङ्गाको सङ्ख्यामा कमी आउनुका प्रमुख कारण के हो, यसको खोजीका लागि निकुञ्जले अध्ययन कार्यअगाडि बढाएको छ ।”बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो ।
नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै यो वन्यजन्तु पाइने गरेको छ । शुक्लाफाँटा घाँसेमैदानमा विश्वमा नै सबैभन्दा ठूलो झुण्डका रुपमा रहेको बाह्रसिङ्गा अवलोकन गर्न सकिन्छ । शुक्लाफाँटाको घाँसेमैदानसहित सुन्दरीफाँटा, हरैयाफाँटा, बिचुवाफाँटा, अण्डैयापटैयाफाँटा, करैयाफाँटा र नजीकका निकुञ्ज भित्रको वन र सिमसार क्षेत्र बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए ।उनका अनुसार निकुञ्जको स्थापनाकालमा अर्थात् सन् १९७६ मा बाह्रसिङ्गाको सङ्ख्या ९०० रहेकामा सन् १९९३ मा बढेर यसको सङ्ख्या एक हजार ८५० पुगेको थियो ।
त्यसपछि सन् २००७ मा बाह्रसिङ्गाको सङ्ख्या एक हजार ६७४, सन् २०१० मा एक हजार ७३७, सन् २०११ मा एक हजार ७४३, सन् २०१२ मा एक हजार ८२५ र सन् २०१३ मा दुई हजार १७० रहेका थियो । बाह्रसिङ्गा गणनाका लागि चार वटा हात्तीसहित निकुञ्ज कार्यालयका १५, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका दुई र राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन जना गरी २० जना टोली खटिएको थियो । हात्तीमा सवार गणकहरुले टाउको गन्ती (हेड काउन्ट) का आधारमा बाह्रसिङ्गा गणनाको कार्य गरेको बताइएको छ ।
नीलगाई को सँख्या ८२ पुग्यो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाईको सङ्ख्या ८२ रहेको पाइएको छ । पहिलो पटक गरिएको गणनामा वयस्क भाले १६, वयस्क पोथी ४०, अर्धवयस्क भाले दुई, अर्धवयस्क पोथी सात र बाच्छाबाच्छी गरी ८२ वटा नीलगाई फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिए ।
नीलगाई नेपाल, भारत र पाकिस्तानमा पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा, बर्दिया, चितवन, बाँके र पर्सा राष्ट्रिय निकुञ्जसहित कोशीटप्पु वन्यजन्तु आरक्षमा यसको बासस्थान रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाई बाघको मुख्य आहारा प्रजातिका रुपमा रहेको छ ।
निकुञ्जको खुल्ला सालको वन र मध्यवर्ती क्षेत्रको खेतीपाती नजीकको वन क्षेत्रमा नीलगाई पाइने गरेको छ । निकुञ्जको महाकाली किनार, पलिया, सुन्दरीफाँटा, मझगाउँ, हात्तीथला, जोनापुरी, भतपुरी, तारापुर बेलडाँडीलगायतका क्षेत्रमा नीलगाईको अवलोकन गर्न सकिन्छ ।
वनमा डढेलोबाट जोगिन वन्यजन्तुहरू मानव बस्ती र चुरे क्षेत्रमा बासस्थान खोज्दै पुग्ने गरेका छन् । यो समय वन्यजन्तुका लागि निकै सङ्कटको समय हो । प्रचण्ड गर्मीका कारण वनमा डढेलो लाग्न थालेपछि बास्थानको खोजीमा वन्यजन्तु अन्यत्र जान थालेका छन् । अहिले चुरे पर्वतको तल्लो भावर इलाकादेखि तराईको जङ्गल निकटका बस्तीमा नीलगाई भेटिन थालेको छ । रासस