धनगढी - सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि प्रदेश सभामा छलफल शुरु भएको छ । आइतबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि मंगलबारदेखी छलफल शुरु भएको हो ।
छलफलमा भाग लिएका प्रतिपक्षी प्रदेश सदस्यहरुले नीति तथा कार्यक्रम खुद्रा पसल जस्तो भन्दै आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सदस्य डिल्लीराज पन्तले प्रदेशलाई सम्बृद्ध बनाउन योजनाबद्ध विकास कार्यक्रमको आवश्यकता रहेको बेला सरकारले नीति तथा कार्यक्रम मार्फत सामान्य स्तरमा मात्रै काम गर्ने चाहना राखेको देखिएको बताए ।
अध्ययन अनुसन्धानमा करोडौं खर्च गरेको सरकारले ती अध्ययनबाट आएको निष्कर्षका आधारमा नीति तथा कार्यक्रम बनाउनु पर्नेमा खुद्रा पसल राख्न मै सरकारको रुचि दखिएको उनले बताए ।
प्रतिपक्षी दल कांग्रेसकै प्रदेश सदस्य कर्ण बहादुर मल्लले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निराश भएको बताए । सत्तापक्षीय प्रदेश सदस्यहरुले भने सरकारले पेश गरेको नीति तथा कार्यक्रम प्रदेशको विकासका लागि उपयुक्त भएको भन्दै बचाउ गरेका थिए । सत्तापक्ष नेकपाका प्रदेश सदस्य लिलाधर भट्टले प्रदेश सरकारले सन्तुलित विकासको नीति अवलम्बन गरेको बताए ।
नेकपाका प्रदेश सदस्य दीर्घ सोडारीले भने संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई पर्याप्त बजेट नदिएको भन्दै संघीय सरकारको आलोचना गरे । उनले शिक्षा मन्त्रालयलाई दिइएको बजेट प्रदेशलाई दिएको बजेट भन्दा बढी रहेको बताए ।
नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपाका प्रदेश सदस्य महेशदत्त जोशी, बलदेब रेग्मी र कुन्ति जोशी तथा नेपाली कांग्रेसका सांसद दिब्येश्वरी शाहले पनि आफ्नो धारणा राखेका थिए ।
प्रदेश सभाको मंगलबारको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश सभामा सम्बोधन गरेकोमा प्रदेश प्रमुख मोहनराज मल्लप्रति धन्यवाद प्रस्ताव समेत पारित गरेको छ ।