महेन्द्रनगर - चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट दशैं, तिहार, नयाँ वर्ष (बिशु पर्व) र गौरा पर्व मनाउनेहरू घर फर्किने गर्थे ।
कोरोना भाइरसको त्रासका कारण गत चैतदेखि नै लाखौं नेपाली भारत छाडेर स्वदेश आइसकेकाले पनि चाडपर्वमा सीमानाकाहरू सुनसान भएका हुन् । गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दले भारतबाट यहाँको नाका हुँदै दैनिक २०० देखि ३०० नेपाली स्वदेश फर्किरहेको बताए ।
‘कोरोनाको डरले नेपालीहरू पहिल्यै हजारौंको संख्यामा यहाँबाट भित्रिसके,’ उनले भने, ‘यस वर्ष चाडपर्वका लागि घर आउनेहरू विगतमा जस्तो धेरै छैनन् ।’ भारतबाट आउनेहरूमध्ये पनि २० प्रतिशत मात्रै दशैंलगायत चाडपर्व मनाउन आएको उनले जानकारी दिए ।
यस्तै गड्डाचौकी नाकाबाट दैनिक सयदेखि २०० सम्म नागरिक रोजगारीका लागि भारत गइरहेको प्रहरीको भनाइ छ । विगतमा दशैं शुरू हुनुअघि नै यहाँको नाकाबाट दैनिक १० हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका थिए । कृष्णपुर नगरपालिकाका अर्जुन जोशीले कोरोनाले भारतमा हुँदा पनि दुःख पाइएकाले दिल्लीबाट घर फर्किनुपरेको बताए ।
‘लामो समयसम्म कम्पनी बन्द भएकाले कोठामै बस्नुप¥यो,’ उनले भने, ‘अहिले त सुरक्षित रूपले घर पुग्नु नै ठूलो कुरो भइसक्यो । कोरोनाका कारण धेरै नेपालीको रोजगारी गुमेकाले स्वदेशमै काम गर्ने योजना बनाएर धेरैजसो घर फर्किरहेका छन् ।’
कोरोनाका कारण यहाँका नाकाहरूबाट सुदूरपश्चिममा मात्रै डेढ लाखभन्दा बढी स्वदेश भित्रिएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ । यस्तै त्रिनगर नाकाबाट दैनिक ५०० देखि ८०० नेपाली घर फर्किरहेको प्रहरीको भनाइ छ ।
‘आर्थिक अवस्थाले धेरै नेपाली दशैं छाडेर पनि मजदूरीका लागि भारत गइरहेका छन्,’ प्रहरी नायब निरीक्षक भूपाल थापाले भने । यहाँबाट भारतको राजधानी दिल्ली, बैंग्लोर, पुने, मुम्बई, पञ्जाब, देहरादुन, हरिद्वार, राजस्थान, कुमाउ, गढवाल, सिमलालगायत स्थानमा नेपालीहरू मजदूरीका लागि जाने गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा यात्रुको सहजताका लागि सीमानाका क्षेत्रमा समेत गरेर प्रदेशका ४० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको बताएको छ । रासस