अत्तरिया - नेपालीहरुको महान चार्ड बडा दशैंको सातौं दिन , आज फुलपाती । सप्तमी तिथिमा पर्ने यस दिनलाई हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ ।
कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ फूलपातीसंगै दसैं पूर्णरुपमा सुरु हुन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने उनले बताए ।
आजकै दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संघसंस्थाहरु विदा हुने गर्दछन् । यसो हुँदा मानिसहरु फुर्सदिला भई टाढाटाढा रहेका आफ्ना घर जाने मौका पाउँछन् ।
बजारहरुमा विशेष चहलपहल सुरु हुने र नयाँनयाँ अनुहारका मानिसको आवतजावतले रमाईलो अनुभूति गराउँदछ । फूलपातीकै दिनदेखि गाउँघर शहर बजारमा रोटे र लिङ्गे पिङ हाल्ने गरिन्छ ।
तर यस बर्ष कोरोना संक्रमणका कारण दशैको चहलपहल देखिएको छैन् । कैलाली प्रशासनले चार्डपर्वका बेला भिडभाड नगर्न भन्दै निषेधाज्ञा पनि जारी गरेको छ ।