अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका २ जना सहित आज सुदूरपश्चिममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेको बिभिन्न ६ वटा प्रयोगशालामा ८ सय ३२ जनाको परीक्षण गर्दा गोदावरीका २ जना सहित थप ७५ जनामा कोरोना पुष्टि भएको हो ।
धनगढीको सेती अस्पतालको प्रयोगशालामा ३ सय ३३ जनाको नमुना परिक्षण गर्दा कैलालीका ४७ र कञ्चनपुरका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ । जसमा धनगढी उपमहानगरपालिकाका २६ जना , टीकापुर नगरपालिकाका १५ जना, चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाका एकरएक जना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको हो ।
कञ्चनपुर जिल्लमा भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकाका २÷२ जना, शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उता बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीका अनुसार डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको पाटन नगरपालिकाका २० वर्षीय पुरुष र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीकै दशरथचन्द नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४ जनाको नमुना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेहरुमा डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ जना रहेका छन् ।
यस्तै अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र बझाङ जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संगै गरेर सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको छ।