कञ्चनपुर - जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ । मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा वडा कार्यालयका काम कारवाही समेत प्रभावित हुँदै आएका छन् ।
“कार्यालय कक्षभित्र मोबाइलको नेटवर्कले टिप्दैन”, वडासचिव चन्द्र चौधरीले भने, “मोबाइलमा अत्यन्त जरुरी कुराकानी गर्नकै लागि कार्यालय भन्दा टाढा पुग्नु पर्दछ मोबाइल नेटवर्कले काम नगरे इन्टरनेट चल्ने कुरै छैन ।”
वडामा भएका महत्वपूर्ण निर्णय नगरपालिकामा इमेल मार्फत पठाउन टाढाको गाउँमा पुगेर निजी खर्चमै मोबाइलको हस्पटबाट इन्टरनेट चलाएर पठाउँदै आएको उनले बताए नगरपालिकाले पठाएका तत्कालै पाउनुपर्ने सूचनासमेत इन्टरनेट र मोबाइल नेटवर्क नहुँदा पाउन निकै गाह्रो भएको उनको भनाइ छ ।
“वायरलेस सिस्टमको इन्टरनेट वडा कार्यालयमा गत वर्ष जोडेका थियौँ”, वडा सदस्य लालबहादुर महराले भने, “काम नै नगरेपछि बन्द अवस्थामा रहेको छ ।” आधुनिक युगमा समेत इन्टरनेट र मोबाइल सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायलाई तत्काल मोबाइल टावरको व्यवस्था गर्न आग्रहसमेत गरिएको बताए ।
नेपाल टेलिकमको नेटवर्कले टिप्दैन सोही वडाका स्थानीय बेलडाँडीका सुरतबहादुर साउदले बताए । “एनसेल लगायतका अन्य निजी कम्पनीका मोबाइल कम्पनीका नेटवर्टकले कहिले टिप्ने कहिले नटिप्ने गर्दछ । फोन नलाग्ने गरेकै कारण निकै सास्ती खेप्नुपरेको छ ।”
बेलडाँडी, पिल्लरी, पारिफाँटा दोमिल्ला, पहरिया र निगालीलगायतका स्थानीवासीलाई मोबाइल नेटवर्कले काम नगर्ने भएपछि महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।
नेपाल टेलिकमले सुन्दरीफाँटामा टावर बनाउन थालेको झण्डै एक वर्ष नै हुन आँटे पनि टावर निर्माणको कार्य पूरा हुनसकेको छैन । सो टावर निर्माण भएपछि मोबाइल सेवा सञ्चालन हुनेमा आशावादी भए पनि निर्माण कहिले पूरा हुने भने टुङ्गो छैन । “मोबाइल सेवा सहजरूपमा कहिलेदेखि सञ्चालन होला भन्ने बाटो कुरेर बसेका छौँ”, रामबहादुर साउदले भन्नुभयो, “मोबाइल राम्ररी टिप्ने भए हुन्थ्यो ।
इन्टरनेट सेवाको कल्पना समेत अहिले गरेका छैनौँ ।” सबैका घरघरमा मोबाइल सेट छन् । फोन गर्नकै लागि टाढाको कलुवापुर र अमरपुर लगायत क्षेत्रमा पुगेर फोन गर्नुपर्ने स्थानीय बासिन्दालाई बाध्यता छ । पाँच गाउँका झण्डै दुई हजार बढी बासिन्दा सम्म सञ्चार सेवा पुग्न सकेको छैन् । रासस