अत्तरिया - सुदूरपश्चिम प्रदेशमा दिनप्रदिन कोरोना संक्रमण बढ्दै गइरहेको छ । प्रदेशभरि पछिल्लो दिनहरुमा संक्रमित थपिने क्रम बढ्दै गएको हो ।
आज मात्रै १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न ६ वटा प्रयोगशालामा १ हजार ३ सय ९९ जनाको परीक्षण गर्दा कैलालीको गोदावरी नगरपालिकाका ३ जना सहित थप १ सय ३२ जनामा संक्रमण पुष्टि हो । पछिल्लो २४ घण्टामा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ६ सय ६ जनाको नमुना परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
जसमा धनगढीका मात्रै २३ जना रहेको छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका, जोशीपुर गाउँपालिकाका २ ÷२ जना, गौरीगंगा नगरपालिका, लम्किचुहा नगरपालिका र बर्दगोरीया गाउँपालिकाका १÷१ जना र ठेगाना नखुलेका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि कञ्चनपुरको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकाका १÷१ जना र डोटीको केआई सिह गाउँपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए ।
उता डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ७३ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार जसमा दार्चुलाका मात्रै ५० जना रहेका छन् भने एक जना डडेल्धुराको अमरगढी नगरपालिका रहेका छन् ।
यसैगरि बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १९ जना, बैतडी प्रयोगशालामा २ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार २ सय १९ पुगेको छ।