अत्तरिया - सुदुरपश्चिम समाज दक्षिण कोरियाले सुदूरपश्चिम बिकट पहाडी जिल्ला बझाङको केदारस्युँ गाउँ पालिका ८ मल्लेसीका बाढी पहिरो पीडितलाई १ लाख नेपाली सहयोग गरेको छ । समाजका महासचिव ओम साउदका अनुसार बाढी पीडित विपद् व्यवस्थापन समिति केदारस्युँ ८ मल्लेसीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक बझाङको खातामा १ लाख जम्मा गरी सहयोग गरेको हो ।
गत असार महिनाको २० गते शनिबार बिहान २ बजेतिर केदारस्युँ गाउपालिकाको मल्लेसीमा भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । उक्त पहिरोबाट सो स्थानमा रहेका २० परिवार घरविहीन भएका छन् र उक्त बस्तीलाई अन्यत्र सुरक्षित स्थानमा पुनर्स्थापना गर्नुपर्ने चुनौती छ । समाजले उक्त पहिरोको दुःखद् खबर सार्वजनिक भए लगत्तै विज्ञप्ति प्रकाशित गरेर समाजका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।त्यस लगत्तै बाजुराको स्वास्थ्य पूर्वाधार विकास एवं बझाङका पहिरो पीडितलाई सहयोग गर्न अध्यक्ष बीर पाल , सल्लाहकारहरू कमल शाही, लाल साउद र यज्ञराज जोशी को समन्वयमा संयुक्त अभियान संचालन गरेकोमा ५० जना सहयोगीहरूबाट १३,३०,००० वन सहयोग प्राप्त भएको थियो ।
समाजले आफ्नो कोषबाट सो रकममा थप गरी बाजुरामा २० सेट अस्पताल बेड सहयोग गर्न थप १ लाख र बझाङका पहिरो पीडितलाई १ लाख गरी २ लाख नेपाली बराबरको सहयोग यसै अभियानबाट गरेको छ । बाजुराको बुढीगङगा नगरपालिकामा अस्पताल बेड १० सेट गत साउनमै हस्तान्तरण गरिसकिएका छन् भने बाजुराको स्वामी कार्तिक खापर गाउपालिकामा पनि १० सेट अस्पताल बेड दिने कार्यक्रम रहेको छ ।
समाजले सुदूरपश्चिका लागि निरन्तर रुपमा सामाजिक कार्यहरू गर्दै आइरहेको छ । केहीदिन अघि मात्र अछाम रामारोशनका बाढी पीडितलाई समेत समाजले सहयोग गरेको थियो । कोरियामा रहेका सुदूरपश्चिमेलीहरूको बीचमा आपसी सद्भाव एवम् एकता अभिवृद्धि गरी संस्थागत रूपमा नेपाली समुदायको हित र भलाईका लागि विशुद्ध समाजसेवाको भावले स्थापित एक सामाजिक संस्थाको रुपमा सुदुरपश्चिम समाज, कोरियाको स्थापना भएको हो ।सुदूरपश्चिम समाजका मूलभूत उद्देश्यहरूमा विभिन्न उद्देश्यले कोरियामा कार्यरत सुदूरपश्चिमेली नेपालीहरूको बीचमा आपसी सद्भाव र एकताको भावना जागृतगर्ने, आपतविपतका बेला परस्परमा सहयोग गर्ने, बाढी,पहिरो,भूकम्प जस्ता प्राकृतिक प्रकोपमा मातृभूमिका निम्ति सहयोग गर्ने,मौलिक भाषा, कला, साहित्य संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने र सकारात्मक सोचको विकास गरी सक्दो रूपमा सामाजिक तथा मानवीय सेवा सहयोगका कार्य गर्ने रहेका छन् ।
यसै बीच केदारस्युँ गाउँपालिका प्रमुख ईन्द्र भण्डारीले पहिरो पीडितलाई सहयोग गरेकोमा सुदूरपश्चिम समाज,कोरियालाई धन्यवाद दिनुभएको छ भने समाजका अध्यक्ष बीरबहादुर पालले समेत सबै सहयोगीहरूलाई हार्दिक धन्यवाद दिएका छन् ।