अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका ७ जना सहित सुदूरपश्चिम प्रदेशमा आज ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अबधिमा ९ सय ८४ जनाको परीक्षण गर्दा गोदावरीका ७ जना सहित थप ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४० जनाको परीक्षण गरिएकोमा ५८ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा धनगढी उपमहानगरपालिकाका मात्र ३६ जना रहेका छन् । त्यसपछि गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै लम्किचुहा नगरपालिका–१, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका एक र एक जना रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना र शुक्लाफाटा नगरपालिका–१० र बैलौरी नगरपालिकाकाक एक एक जना , डडेल्धुराको आलिताल गाउँपालिका–८ का १ जना, डोटीको जोरायल गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
यसैगरि डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ । जसमा डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का तीन जना, परशुराम नगरपालिका वडा नम्बर १२ का दुई जना, आलिताल गाउँपालिका वडा नम्बर ४ का एक जना , बैतडीको पाटन नगरपालिकाका ४ जना, दार्चुलाको मार्मा गाउँपालिकाका तीन जना र बैतडीको पञ्चेश्वरका एक जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।
उता अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ हजार ८ सय ५६ पुगेको छ ।