अत्तरिया - कैलाली जिल्लामा पुनः निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा दिनप्रति दिन कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै अर्को सुचना नआए सम्मका लागि आज देखि पुनः निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्वारा जारी गरिएको सुचनामा तोकिएका मापदण्ड पूरा गरी जिल्लाभित्र लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ ।
तर सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गतेभन्दा पहिले कायम गरिएको नियमित भाडा दर भन्दा कुनै किसिमको थप भाडा लिन नपाइने जनाइएको छ । जिल्लामा मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमभट जस्ता कुनै पनि कृयकलापहरु गर्न पाइने छैन् ।
यस्तै कुनै पनि मठ मन्दिर, गुम्बा, चर्च, मस्जित, गुरुद्वारालगायतका धार्मिक र साँस्कृतिक महत्वको स्थानमा हुने पूजापाठ बाहेकका मानिस जम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन कृर्तन, बली लगायतका कुनै पनि कार्य गर्न नपाइने र समूहरुमा जम्मा भइ शुभकामना अदानप्रदान गर्ने लगायतका कुनै पनि कार्यक्रम गर्न नपाउने सो निषेधाज्ञामा उल्लेख छ ।
सरकारी निकायहरुले पहिलेको भन्दा थप व्यवस्थित हुने गरी सेवा प्रवाह गर्नै आदेश जारी गरिएको छ । जारी गरेको निषेधाज्ञा अनुसार कसैले उलंघन गरेमा प्रचलित कानून अनुसार कडा कारवाही गर्ने जनाइएको छ ।