अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका ३ जना सहित सुदूरपश्चिम प्रदेशभर आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका बिभन्न ५ वटा प्रयोगशाला मार्फत गरिएको परिक्षणमा गोदावरीका ३ जना सहित ७७ जनामा कोरोना पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा १ सय ८० जनाको नमुना परीक्षण गर्दा कैलालीका ४३ र कञ्चनपुरका ४ जना गरि ४७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा धनगढी उपमहानगरपालिकाका मात्र ३६ जना रहेका छन् । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार गोदावरी नगरपालिकाका ३ जना , लम्किचुहा नगरपालिका – ३ का १ जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका–३ का एक जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । यसैगरि डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ६२ नमुना परीक्षण गरिएको छ । जसमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल परिक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले बताए ।
उनका अनुसार संक्रमण पुष्टि हुनेहरुमा अमरगढी नगरपालिका ३ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, आलिताल गाउँपालिकाका १ जना रहेका छन् । यस्तै दार्चुलाको महाकाली नगरपालिका ३ जनामा पनि सङ्क्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए ।
उता जिल्ला अस्पताल बझाङमा १ सय १ जनाको परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ । जसमा खप्तडछान्ना गाउँपालिकामा ५ जना, थलारा गाउँपालिकामा ६ जना, केदारस्युँ गाउँपालिकामा १ जना, जयपृथ्वि नगरपालिकामा १ जना, र रायल प्राथमिक स्वास्थ्य केन्द्रका २ जनामा कोरोना पुष्टि भएको ल्याव ईन्चार्ज नरेश खडकाले बताए ।
उता अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ७ जनाको परिक्षण गर्दा ५ जना पुरुषमा संक्रमण पुष्टी भएको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा मंगलसैन ब्यारेकका ४ जना र रामारोशन गाउँपालिकाका १ जना रहेको कमलवजार कोभिड १९ परिक्षण प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या आठ हजार सात सय १८ पुगेको छ।