सरकारले सीमाको सुरक्षा व्यवस्था बलियो बनाउँदै लैजाने उद्देश्यले अब्जरभेजन फोर्स(बीओपी) स्थापनामा तीव्रता दिएको छ। चैतयता मात्रै ५० वटा बीओपी स्थापना गरिएको छ। भारतसँगको सिमानामा ४४ वटा र चीनसँगको सिमानामा ६ वटा बीओपी थपिएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।
हाल देशभर सीमामा १ सय ७२ वटा बीओपी स्थापना भएका छन्। बीओपीको संख्या भारतीय सीमानामा १ सय ६५ र उत्तरी सीमामा ७ पुगेको छ। प्रवक्ता अर्यालका अनुसार सरकारले २ सय २१ बीओपी बनाउने लक्ष्यका साथ द्रुत गति काम गरिरहेको छ।
स्रोत साधान र जनशक्ति पुगेमा भारतको बराबर बीओपी स्थापना गर्ने सरकारको योजना छ। ५ सय बीओपी स्थापना गर्ने तयारी गृह मन्त्रालयको छ।
२ देखि ३ किलोमिटरको दूरीमा बीओपी राख्ने योजना सरकारको छ । वैशाख ३१ गते भन्दा पहिला नेपालको पश्चिम सिमानामा एउटै सुरक्षा पोस्ट थिएन। पश्चिम सीमा सुरक्षाबिहीन अवस्थामा थियो।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा प्रकाशनसँगै सरकारले सीमा सुरक्षाका लागि बीओपी थप गर्दै लगेको छ। पश्चिममा कञ्चनपुरदेखि दार्चुलासम्मै सीमा सुरक्षाका लागिबीओपी स्थापना गरिएकोे छ ।
दार्चुलामा ४ वटा बीओपी र एक गुल्म स्थापना भएका छन्। छाङरुमा रहेको बीओपीलाई स्तरोन्नति गरेर गुल्ममा परिणत गरिएको छ। लाली, दुम्लिङ, जोलजिवी, दत्तुमा बीओपी स्थापना भएका छन्
। वैशाखअघि दार्चुलामा एउटा पनि बीओपी थिएन। टिंकर र माथिल्लो वा तल्लो कौवा क्षेत्रमा बीओपी स्थापना गर्ने तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।
बैतडी र डडेल्धुरामा बीओपी स्थापना भइसकेको छ। चैतमा लकडाउन अघिसम्म पश्चिमी सिमानामा एउटा बीओपी थिएन। पश्चिमका सबै जिल्लाका सिमानामा बीओपी स्थापना भइसकेका छन्।