अत्तरिया - पछिल्ला दिनमा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम प्रभावित हुन थालेका छन । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोमबारबाट भूमिसुधार तथा मालपोत कार्यालय कैलालीको सेवा बन्द गरिएको छ ।
बन्दाबन्दी खुलेसँगै सो कार्यालयमा सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढेपछि आगामी कात्तिक ३ गतेसम्म आन्तरिक प्रशासनिक कामबाहेक अन्य सबै काम बन्द गरिएको कार्यालय द्वारा प्रकाशित सूचनामा जनाइएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि कृषि विकास बैंक बैंकिङ कार्यालय धनगढी शाखा पनि बन्द गर्नु्परेको थियो । यसैबीच सेती प्रादेशिक अस्पतालको कारोना प्रयोगशालामा कार्यरत एक महिला कर्मचारीमा समेत कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित महिलाको स्वस्थ्य अवस्था समान्य रहेको र उनी आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ । पछिल्ला दिनमा प्रदेशमा सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएका छन । सामाजिक विकास मन्त्रालयका अनुसार हिजो सुदूरपश्चिम प्रदेशमा थप ८१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
हिजो ८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार चार सय नाघेको छ । जसमा कैलाली जिल्लामा मात्रै संक्रमितको संख्या तीन हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार चार सय ६८ पुगेको छ ।
तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण भई होम आइसोलेसनमा बस्नेबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन भइरहेको कमीकमजोरीका कारणले पनि सङ्क्रमण फैलिँदै गएको बताइएको छ ।
चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढ्ने देखिएको छ ।