दार्चुला - खर काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते हुनुभएका शैल्यशिखर नगरपालिका–४ काडापारीका ६४ वर्षीया झुम्तीदेवी धामीको सोमबार गोकुलेश्वर अस्पतालमा मृत्यु भएको छ । आइतबार बिहान यातायातको पहुँच भन्दा चार घण्टा टाढाको भिरबाट लडेर टाउको, शरीर र खुट्टामा चोट लागेका धामीलाई अस्पताल पुर्याउन गाउँमा स्टेचर समेत नपाएपछि आफन्तले पिठ्युमा बोकेर दिउँसो रानिशिखर स्वास्थ्य चौकीमा पुर्याएका थिए ।
स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि गोकुलेश्वर अस्पताल लगिएका घाइते धामीको उपचारकै क्रममा सोमबार मृत्यु भएको हो । समयमै अस्पताल पुर्याउन नसक्दा उहाँको शरीरबाट रगत बगिसकेको थियो । गाउँको रानिशिखर स्वास्थ्यचौकीमा बिरामी बोक्ने स्टेचर समेत नपाउदा अस्पताल पुर्याउन झनै ढिलाई भएको मृतकका श्रीमान तारासिह धामीले बताए।
यतिबेला सुदूरपहाडका महिलाहरु खर काट्ने काममा व्यस्त छन् । चिसोयाममा गाईभैँसीलाई खुवाउन घाँस तथा स्याउला कम पाइने भएकोले भदौँ देखि कार्तिक महिनासम्म दिनभरी भिर पाखामा चढेर खर (गाज्यो) काट्दै थुप्रो बनाएर राख्ने गरिएको लेकम गाउँपालिका–५ का गिता जोशीले बताउनुभयो । अधिकासं ठाउँमा पुरुषहरु खेत जोत्ने र महिलाहरु खर काट्ने काम गर्छन् । कुनै कुनै परिवारमा भने महिला र पुरुष मिलेर खर काट्ने गर्छन् । छिटो र बढी काट्ने प्रतिस्पर्धा समेत चल्ने भएकोले भिरबाट खस्ने जोखिम बढी हुन्छ ।
ज्यान जोखिममा राखेर भिर पाखाबाट खर काट्ने क्रममा वर्षेनी पहाडी जिल्लाका धेरै मानिसले अल्पायुमै ज्यान गुमाउने गरेका छन् । दार्चुलामा मात्रै पछिल्लो दुई महिनामा खर काट्ने क्रममा छ जनाले ज्यान गुमाएका छन् । जसमा चार जना महिला र दुई जना पुरुष रहेका छन् । प्रहरीले भने दुई जनाको मात्रै आधिकारीक जानकारी आएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा ११ जनाले भिरबाट लडेर ज्यान गुमाएका थिए ।
भिरबाट लडेर मृत्यु भएका अधिकासं मानिसको जानकारी प्रहरीसम्म पुग्ने गरेको छैन् । भिरबाट लडेर मृत्यु भएका सबैको जानकारी प्रहरीसम्म नपुग्ने भएकोले मृतकको संख्या अझै बढी हुनसक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए । भगौलिक विकटता र यातायातको असुविधाका कारण भिरबाट लडेर घाइते भएका मानिसले समेत समयमै उपचार नपाएर ज्यान गुमाउने गरेका छन् ।
घाँस खेती नगर्दा गाईभैँसीको लागि आहार खोज्न मानिसहरु कठिन भिर चढ्ने गरेका छन् । कतिपय मानिसले खर विक्रि गर्नका लागि समेत यो समयमा घाँस संकलन गरेर राख्ने गरेका छन् । भिरमा सुकेको खरभन्दा खेतमा उत्पादन गरेको घाँस बढी पोसिलो हुने भएकोले कृषकहरुलाई घाँस खेती लगाउन प्रोत्साहन गर्नुपर्ने कृषि प्राविधिक राजेशसिह बिष्टको भनाई छ । जिल्लाभर बर्सेनि खर काट्दा २० जना भन्दा बढी महिलाको भिरबाट खसेर ज्यान जाने गरेको अनुमान छ । साभार गोरखा पत्र