अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा एक जना सहित आज सुदूरपश्चिम प्रदेशमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न तीन वटा प्रयोगशालामा गरीएको परीक्षणमा गोदावरी एक जना सहित ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको कोरोना परीक्षण गर्दा कैलाली, कञ्चनपुर र दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा धनगढीका मात्रै ३० जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार गौरीगंगा नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका–२ का १ जना र लम्किचुहा नगरपालिकाका १ जनामा समेत कोरोना पुष्टि भएको हो ।
यस्तै कञ्चनपुरको महाकाली नगरपालिकाका ४ जना, पुर्नरवास नगरपालिका र बेल्डाँडी गाउँपालिका–१ का २ र २ जना, त्यस्तै बेदकोद नगरपालिका, बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाका १ र १ जनामा भाइरसको संक्रमण देखिएको छ । यसैगरि दार्चुलाका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६७ नमुना परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा बैतडीको पाटन नगरपालिका ७ जना र डडेल्धुराको पर्शुराम नगरपालिकाका २ जना रहेको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।
जिल्ला अस्पताल बैतडी प्रयोगशालामा १० जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा २ जना, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा २ जना र डोटी अस्पताल प्रयोगशालामा थप १ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार १ सय १ पुगेको छ । जसमा ६ हजार ७ सय बढी निको भएर डिस्चार्ज भैसकेको छन् ।