अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका ३ जना सहित सुदूरपश्चिमका आज थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न तीन वटा प्रयोगशाला मार्फत भएको कोरोना परीक्षणमा थप ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्ल्लो २४ घण्टामा ४ सय ६२ जनाको कोरोना परीक्षण गर्दा ७७ जनामा कोरोना पुष्टि भएको छ । जसमा कैलाली, कञ्चनपुर र बैतडीका गरी ७७ जना रहेका छन् । जसमा कैलालीको धनगढी उपमहानगरपालिकाका मात्रै ३२ जना रहेका छन् ।
यस्तै गोदावरी नगरपालिकाका ३ जना , लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिकाका ४ जना र भजनी नगरपालिकाका २ जना रहेको सेती प्रादेशिक अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरि कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, पुर्नरवास नगरपालिका र भीमदत्त नगरपालिकाका ४÷४ जनामा भाइरसको संक्रमण देखिएको छ भने बैतडी सुर्नया गाउँपालिका–१ का एक जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै डडेल्धुरा अस्पताल प्रयोगशाला पछिल्लो २४ घन्टामा २ सय ३४ जनाको कोरोना नमूना परीक्षण गर्दा बैतडी र डोटीका गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोशगालाका ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ का दुई जना र डोटीको जोरायल गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरि उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा २४ घण्टामा १०४ जनाको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा दिपायल सिलगढी नगरपालिकाका एक पुरुष र एक महिला गरी २ जना र अछामको मंगलसेन नगरपालिकाका एक जना रहेको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।
यसै गरि बझाङ जिल्ला अस्पतालको प्रयोशालामा ४ जना र कमलबजार प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको सामाजिक मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ४६ पुगेको छ । संक्रमण पुष्टि भएका ६ हजार ७ सय बढीले कोरोना जितेका छन ।