अत्तरिया - सुदूरपश्चिमबासीको हरेक दुख सुखको सहयात्री बनिरहेको सुदूरपश्चिम समाज दक्षिण कोरियाले अछामका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बस्दै आएका नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरी समाजले चार लाख ६ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
गत भदौँमा आएको बाढीमा परी ज्यान गुमाएका र पीडित परिवारलाई राहत स्वरुप उक्त रकम समाजका पूर्व पदाधिकारीहरुले घरमै गएर उपलब्ध गराएका हुन् । १७ जना मृतक चार परिवारलाई प्रति व्यक्ति १२ हजारका दरले दुई लाख ४ हजार, भौतिक क्षती भएका २० परिवारलाई नौँ हजार पाँच सयका दरले सहयोग रकम प्रदान गरिएको छ ।
यस्तै एचआईभी एड्सबाट आमा बुवा गुमाएकी १० वर्षीया बालिका र मृगौला फेल भएर दुई छोरा गुमाएका रामारोशन गाउँपालिकाका बृद्ध जोगी बुढालाई पनि ६÷६ हजार सहयोग गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाले जनाएको छ । स्थानीय जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि , सामाजिक अगुवाहरुको उपश्तिथीमा समाजका पूर्व पदाधिकारीहरु नरबहादुर साँकी , गोपाल भट्ट, सुरेन्द्र भण्डारी , वर्तमान कोषाध्यक्ष डिल्लीराज पनेरु रामारोशनमै पुगेर सम्बन्धीत व्यक्तिलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
समाजका सल्लाहकार यज्ञमान नायकको सयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान सचालन गरिएको थियो । यस अभियानका सदस्य समाजका उपाध्यक्ष एकिन्द्र खड्का , सचिब योगेश बोहरा , केशब रिमाल ,जनक बिष्ट , तपेन्द्र बिष्ट , मिन बहादुर शाही र दिपेन्द्र रोकायाले महत्वपूर्ण सहयोग गरेको भन्दै समाजले धन्यावाद दिएको छ ।
साथै निशुल्क गाडी उपलब्ध गराउने डा. प्रेम प्रसाद रेग्मी र खडक बिष्ट बिष्टलाई पनि धन्यवाद दिइएको छ । दुखका बेला प्रवासमा बसेर पनि आफ्नो गाउँपालिकामा आएको बिपत्ताका पिडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको भन्दै रामारोशन गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।