अत्तरिया - कैलालीको गोदावरी नगरपालिका अन्र्तग बिभिन्न वडाका जनप्रतिनिधिहरु आन्दोलित भएका छन् । नगरपालिकाले बिगतका दुई आर्थिक बर्ष भन्दा आगामी आर्थिक बर्षका लागि निकै न्युन बजेट छुट्याउने कार्य योजना बनाउदै वडामा सिलिङ् पठाएको भन्दै उनिहरु आन्दोलित बनेका हुन् ।
गोदावरी नगरपालिकाकाको वडा नं ४ , ६ , ७ , ८ ,१० र १२ गरी ६ वटा वडाका वडा अध्यक्ष र वडा सदस्य सहित गएको एक टोलीले नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका छन् । जनताका आवश्यकता बढ्दै गइरहेको अबस्थामा संघ , प्रदेश र नगरको बजेट बढेर आएपनि वडाको बजेटको सिलिङ् घटाएर पठाउनु न्यायोचित नभएको भन्दै आफुहरु आन्दालित हुनु परेको गोदावरी नगरपालिका वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्काले बताए ।
नगरपालिकाले गत आर्थिक बर्ष २०७४,०७५ को बजेट सिलिड्मा वडा भित्रकावाट योजना छनौटका लागि १२ वटै वडामा प्रतिवडा ८० लाखका दरले ९ करोड ६० लाख बजेट र चालुआर्थिक बर्ष २०७५,०७६ मा सम्पुर्ण वडाका लागि १० करोड ५० लाख बजेट बिनियोजन गरेको भएपनि आगामी आर्थिक बर्ष २०७६,०७७ को बजेट सिलिड्मा ५ करोड मात्रै रकम छुट्याएर ठुलो अन्याय गरेको उनले बताए ।
यति न्युन बिनियोजित रकमले वडाभित्रका जनताका अतिआवश्यक तथा विकासका क्षेत्रमा कार्यसंचालन तथा जनअपेक्षा अनुरुपको बिकास निर्माण कार्य गर्न तथा सेवा प्रवाह गर्न नसकिने भएकाले सिलिडमा पुर्नबिचार गर्न जनप्रतिनिधिहरुले माग गरेका छन् ।
गोदावरी नगरपालिक वडा नं १० का वडा सदस्य भुवन भट्टले गत २ बर्षको तुलनामा आगमी आर्थिक बर्षको बजेट झण्डै ७० प्रतिशतले कटौती गरेर बिनियोजन गरेको भन्दै आपत्ती जनाए । उनले बजेट बिनियोजन गर्दा सुरुमा थोरै रकम छुट्याउने र बाकि रकम डल्लो बजेटको रुपमा राखेर आफ्नो मनपरी अनुसार आफ्ना नजिकका ब्यक्तिहरुलाई बाढ्ने गरेको आरोप लगाए ।
आफुहरु आन्दोलित हुनुको कारण पनि डल्लो बजेटका नाममा आफ्ना नजिकका ब्यक्तिहरुलाई बाढ्ने परिपार्टिको अन्त्य गर्न नै रहेको उनले बताए । उनले यसका बिरुद्ध आफुहरु निरन्तर रुपमा लागिरहने यदि आफ्ना मागहरु संम्बोधन नभएमा चरमबद्ध रुपमा आन्दोलन कार्यक्रमहरु गर्दै जाने बताए । आफुले राखेका मागहरु पुरा नभएमा वडा भेला देखी नगरपरिषद बाहिष्कार गर्न बाध्य हुने वडा नं ६ का अध्यक्ष विर बहादुर चोखालले बताए । उनले यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवार स्वयम् नगरपालिका हुने समेत चेतावनी दिए । ज्ञापन पत्र बुझ्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नगरपालिकाको आगमी आर्थिक बर्षको बिकासे बजेट ५० करोडको हाराहारीमा रहेको बताइन् ।

उनले बिगतका २ आर्थिक बर्षको तुलनमा आगमी आर्थिक बर्ष ०७६,०७७ का लागि केहि कटौती गरेर वडागत रुपमा बजेटको सिलिड पठाएको बताइन् । बिगतका बर्षहरुमा हामी वडाको भौगोलिक बिकटताको आधारमा , राजश्व उठ्ने आधारमा , जनसंख्याको अधारमा लगाएत बिभिन्न सुत्रको आधारमा बजेटलाइ बाडाफाड गरेका थियौ उनले भनिन् अहिले हामीले केहि बजेट वडा वडामा पठाउने र बाकि नगरस्तरिय कार्यक्रमहरुमा पनि बिषेश गरेर गौरबका योजनालाई अब नगरपालिकाले प्रथमिकताका आधारमा अघि बढाउने भन्ने सल्लाह अनुसार यस्तो गरिएको हो ।
अहिले नगरप्रमुख बाहिर रहेको बताउदै उनले वडाका जनप्रतिनिधिहरुको माग बारे नगरप्रमुख आएपछि मात्रै छलफल गरिने बताइन् । नगरपालिकाले आगमी बर्षमा प्रत्येक वडामा ३ किलोमिटर सडक कालो पत्रे गर्ने , शिक्षा ,स्वास्थ्य , खानेपानीको पहुच भन्दा बाहिर रहेकोहरुलाई पहुँचमा ल्याउने योजना अघि बढाएको छ ।

नगरपालिकाले गत आर्थिक बर्षमा समानिकरण तर्फ प्रति वडालाई ८० लाख र बाकि बिभिन्न सुत्रका आधारमा १ करोड देखी २ करोड सम्मको बजेट बिनियोजन गरेकोमा आगामी आर्थिक बर्षमा समानिकरण तर्फ प्रति वडालाई ३० लाख र बाकि बिभिन्न सुत्रका आधारमा बढिमा ४८ लाख रकम सम्मको बजेटको सिलिङ् पठाएको छ । समानीकरण अनुदान ३ करोड ६० लाख र सुत्रमा आधारित अनुदान १ करोड ४० लाख गरी गोदावरी नगरपालिकाको १२ वटै वडामा जम्मा ५ करोड बजेट बिनियोजन गरेको नगपालिकाले वडामा पठाएको सिलिङ्मा उल्लेख छ ।