कञ्चनपुर - जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीस्थित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा ९बच्चा जन्माएको० पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो। भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्थानीय हरि चौधरीले बताए।
“हात्तीले पाएको छावा जन्मेको केही समयमै हिँड्न थाल्यो”, उनले भने, “नजिकै खनिएको कुलोको माटोमा फसेपछि मानिसझँै बथानका हात्तीले काठको प्रयोग गरी आधा घण्टा बढी समय लगाएर छावालाई निकालेर छाडे ।” नजिकैको सामुदायिक वनमा हात्तीले छावा पाएपछि टाढाबाटै हेर्नेहरुको घुइँचो लागेको उनले बताए।
वस्तीमै आएर हात्तीले उपद्रो मच्चाउने डरले हात्तीको बथानलाई सामुदायिक वनको बाँसघारीबाट टाढा भगाइएको छ। सामुदायिक वन नजिकै मुक्तकमैया वस्ती छ। सामुदायिक वन संरक्षण गरिएपछि केही वर्षदेखि सुरक्षित वासस्थान र पर्याप्त आहाराका कारण हात्तीको बथान यस क्षेत्रमा पुग्ने गर्दछ। लालझाडी संरक्षण क्षेत्र नजिकैको महाकाली सामुदायिक वन हात्तीको पुरानो करिडरका रूपमासमेत रहेको छ ।
“सामुदायिक वन क्षेत्रमा हात्ती हेर्न जाने र जिस्काउनेहरुका कारण मानवीय क्षति हुन नदिनका लागि सबै जनालाई त्यस ठाउँमा नजानका लागि सेचत गराएका छौँ, प्रहरी चौकी वाणीका प्रहरी सहायक निरीक्षक मोहन जोशीले भने, “सबडिभिजन वन कार्यालय वाणीका वनरक्षक, प्रहरी र सामुदायिक वनका पदाधिकारीको सहयोगमा हात्तीलाई वन क्षेत्रमा धपाइएको छ।”
सामुदायिक वनले सार्वजनिक सूचना जारी गरेर वन क्षेत्रमा प्रवेशमा रोक लगाउनुका साथै वनक्षेत्र नजिकको वस्तीका वासिन्दालाई सचेत भएर बस्नका लागि आह्वानसमेत गरेको छ। भारतको दुधुवा नेशनल पार्क हँुदै हात्तीको बथान प्रतिवर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी संरक्षण क्षेत्र हुँदै चुरे क्षेत्रमा आउने गरेको छ ।
धानमा बाला लाग्नै आँटेका बेला हात्तीको बथान यहाँ आइपुग्दछ। धान काटेर किसानले भित्र्याइ सकेपछि मात्रै हात्तीको बथान पुरानै वासस्थान दुधुवा नेशनल पार्कमा फर्कने गरेको छ ।
पुनः गहुँ बाली पाक्नै लागेका बेला हात्तीको बथान यहाँ आइपुग्दछ। हात्तीको बथानले स्थानीय वासिन्दाको खेतीपातीमा व्यापक नोक्सानसँगै घर भत्काउने र घरभित्र राखेको अन्नसमेत खान पछि पर्दैन।
प्रतिवर्ष जङ्गली हात्तीको आक्रमणमा परेर स्थानीय वासिन्दाको ज्यान जाने र घाइते हुने क्रमसमेत विगत तीन वर्षयता बढेको छ। निकुञ्ज हँुदै स्थानीय किसानको खेतमा पुग्ने हात्तीको बथानलाई रोक्नका लागि मेसवायर जडानको कार्यसमेत अगाडि बढाइएको छ। रासस