काठमाडौं- नेपालमा २४ घण्टायता थप १२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म ५९० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
८ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया महिलाको मृत्यु भएको छ।
यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार नेपालमा १५ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो।योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ।
हाल देशभर २६ हजार ६८४ जना सक्रिय संक्रमित छन्। ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
आज १८ हजार ४७३ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ७१ हजार ३४३ जना पुगेको छ।