काठमाडौं- श्रीलंकन क्रिकेट बोर्डको आयोजनामा हुन लागेको लंका प्रिमियर लिगमा नेपालबाट सन्दिप लामिछाने र सुनम गौतम ड्राफ्टमा परेका छन ।
नोभेम्बर २१ तारिखबाट सुरु हुने लंका प्रिमियर लिगको अक्सन भोली हुँदैछ । प्रतियोगिताको ड्राफ्टको सूचीमा कुल ४३६ खेलाडी छन । जसमा दुई सय ७१ जना विदेशी खेलाडी रहेका छन भने श्रीलंकाका एक सय ६५ जना खेलाडीको नाम रहेको छ ।
ड्राफ्टमा नेपाल सहित क्यानडा, स्कटल्याण्ड, हङकङ, नेदरल्याण्ड्स, ओमानका खेलाडीको पनि नाम रहेको छ । यस्तै भारतबाट पनि करिव १० जना खेलाडीले नाम दर्ता गरेका छन ।
पछिल्लो पटक बिग ब्यास लिग खेल्ने संभावना रहेको भनेर चर्चामा आएका र हाल अष्ट्रेलियामा बस्दै आएका सुनम गौतमसँगै हाल आइपीएल खेलिरहेका सन्दिप लामिछाने फरक फरक श्रेणीमा नाम दर्ता गराएका छन ।
ड्राफ्टमा खेलाडीलाई फरक फरक श्रेणीमा राखिएको छ । जसमा क्लासिक, डायमण्ड, गोल्ड, इमर्जिङ र आइकन गरेर श्रेणी छुट्याइएको छ ।
प्रतियोगितामा सहभागि पाँच टिमका लागि पाँच वटा आइकन खेलाडी छनोट भइसकेका छन । जसमा लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, थिसारा परेरा, दासुन शनाका र कुशल परेरा छन । प्रतियोगितामा कोलम्बो लायन्स, दम्बुला हक्स, गाले ग्लाडियटर्स, जाफ्ना कोब्राज र क्यान्डी टस्कर्स रहेका छन ।
पाँच श्रेणीमा रहेका खेलाडीको मुल्य १५ हजार देखि ६० हजार अमेरीकी डलरसम्म राखिएको छ । जसमा सन्दिप डायमण्ड श्रेणीमा रहेका छन । जसका मुल्य ५० देखि ६० हजार अमेरीकी डलर रहेको छ । यो श्रेणीमा इंग्ल्याण्डका रवी भोपारा, पाकिस्तान मोहम्मद हफिज, सोयब मलिक, वेष्ट इन्डिजका डारेन सामी, बंगलादेशका मुस्फिकुर रहिम, इंग्ल्याण्डका लुक राईट जस्तो खेलाडी छन ।
यस्तै अर्का नेपाली खेलाडी सुनम गौतम क्लासिक श्रेणीमा रहेका छन । जसको मुल्य १५ देखि २५ हजार अमेरीकी डलर रहेको छ । प्रतियोगिताका नियम अनुसार एक टिमले ड्राफ्टबाट ६ जना विदेशी खेलाडी लिन पाउनेछन ।
कोरोनाका कारण दुई पटक मिती सरेको प्रतियोगिता अब नोभेम्बर २१ बाट हुनेछ । १५ दिन चल्ने प्रतियोगितामा २३ खेल हुनेछन ।
लामो समयपछि श्रीलंकन क्रिकेट बोर्डले आफ्नै फ्रेन्चाइजी क्रिकेट लिग गर्न लागेको हो ।